कमरेड नेत्रविक्रम चन्द ` विप्लव´
सर्वप्रथम त तपाईंजस्ता नेपाली मोडलका कच्चा कम्युनिस्टहरुलाई `कमरेड´भनेर पुकार्नु नै कम्यूनिज्मको अपमान हो भन्ने मेरो ठहर छ। विश्व कम्यूनिष्ट आन्दोलन र यसको ईतिहास अनि वर्तमान जति गौरवपूर्ण छ त्यति नै नेपालका स्वघोषित कम्युनिस्ट र यिनका गतिविधिहरु त्यति नै बद्द्नाम एवं तिरस्कृत हुँदै आईरहेको छ। कम्यूनिज्मको नाममा कलंकको टिकावाहेक नेपालका अधिकांश कम्युनिस्टहरुले अर्को चरित्र देखाउन सकिराखेका छैनन। १७ हजारको ज्यान लिनेगरी भएको माओवादी जनयुद्धको औचित्य पुष्टि त हुन सकेन सकेन त्यसयता शान्तिप्रकृयामा अवतरण गरेदेखी माओवादी राजनिती अधोगतिउन्मुख त छंदैछ, साथमा समाज विभाजनदेखी लिएर जातियता, क्षेत्रीयता र भौगोलिक अखण्डतामा समेत आँच आउनेगरी माओवादी राजनिती अतिवादउन्मुख भैरहेको छ। समाजमा विद्वेशको विष रोपेर आफूहरु भने नवसामन्त र नवढनाड्यमा परिणत भएका छन हिंजोका गोल्डस्टारछाप माओवादी नेताहरु। सायद यसैलाई कम्यूनिज्म भनिएको होला, यसैलाई समाजवाद भनिएको होला।
दूईछाक राम्रोसंग खान र एकजोर गोल्डस्टार जुत्ता लगाउने आशामा हजारौं सपनाहरुलाई कठोर चट्टानले च्यांपेर साम्यवादको सुनौलो भविष्यको उज्यालोको लागि बन्दुकको नालसंग पैंठेजोरी खोज्दा खोज्दा आज ती सपनाहरुले अरवको राप र तापमा कलेटी परेका ओंठहरु जवर्जस्त जोड्दै विगतको तितो यथार्थ सुस्केर्दा हुन। छोराछोरी, बाबुआमा, श्रीमान गुमाएका हजारौं हजार निर्दोष मनहरु वेलावखत भित्रैवाट उम्लिएर आउँदाहुन मुट्ठिभरका नवसामन्त र नवढनाड्यलाई मात्र त्यो समाजवाद आएको आफ्नै आँखाले देख्नुपर्दा। खाडीको रापमा त्यो तातो रगत अझै उम्लिंदोहो नवसामन्त र नवढनाड्यका अकूत सम्पत्तीसंगै अंघाडीपछाडीका सुरक्षा साईरनको लर्को र सामन्ती कर्कस आवाज सुनेर। सायद विप्लव माओवादीलाई अझै पनि रक्तपिपासुको कुण्डवाट उठेर बदलिंदो विश्वपरिवेष मनन गर्ने ईच्छा र चाहना छैन या चेत नखुलिसकेको होला हगि? त्यसैले त कम्यूनिज्म अर्थात साम्यवादको उल्टो बाटो फलाक्दै हिंडेको आफ्नै आँखाले देख्न, सुन्न र बेहोर्न अभिशप्त छौं। तर साम्यवादको नाममा उल्टो बाटो हिंडेका, अराजक एवं अपाच्य र समयलाई उल्टो दिशातिर फर्काउने कुचेष्टा गरिरहेका विप्लवरुपी स्वोघोषित माओवादीलाई के थाहा कि साम्यवाद भनेको एउटा सामाजिक-आर्थिक संरचना एवं राजनैतिक विचारधारा हो भनेर। विप्लव जि, साम्यवादी व्यवस्थामा त समतावादी, वर्गविहीन समाजको स्थापना पो गरिन्छ त, अराजकता र समयको घडिलाई उल्टो घुमाउने कुचेष्टा त गरिंदैन नि होईन र? यति त बुझ्नुपर्ने होईन र तपाईंजस्तो बन्दुकजिविले कि यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ। साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ। साम्यवादमा कुनै पनि सम्पतिमा कसैको पनि ब्यक्तिगत स्वामित्व हुन्न तर उसले आफ्नो आवस्यकता अनुसार भोगचलन गर्न भने पाउछ भनेर। तपाईंहरुले भन्दै आएको समाजवाद र अन्य मुठ्ठिभरका कम्युनिस्ट नेताहरुको लागी आईसकेको समाजवाद आखिर यौटै त हो नि होईन र? मात्र फरक यत्ति छ कि तपाईंलाई त्यो कथित समाजवादमा अलिक ढिलो पुग्नुछ भने तपाईंका अन्य सारथीहरु तपाईंभन्दा पहिला नै पुगिसके। तपाईंको राजनिती र `सौताको रिसले पोईको काखमा के जति गर्ने स्वास्नीमान्छेको व्यवाहरमा आखिर के नै फरक छ र होईन र? भारतले नाकावन्दी गर्यो नेपाल बन्द, कंचनपुरमा भारतिय वर्दीधारी गुण्डाले नेपाली नागरिकमाथी दिनदहाडै धावा बोली नेपाली छातीमा गोली दाग्छ- नेपाल बन्द र तोडफोड, अराजकता ! वस यत्ती नै होईन तपाईंको साम्यवादको यात्रा, तपाईंको आदर्श राजनितिको प्रतिफल, र कम्यूनिष्टको असली चरित्र? क्या मर्द हुनुहुन्छ र क्या गज्जवको राजनिती गरिरहनुभाको हगि तपाईंले नेपालभित्र? सक्नेले त सिमाको सुरक्षा गर्नु, भारतसंग आमनेसामने बिरोधमा ओर्लिनु, भारतको हेपाहा प्रवृतिविरुद्ध खुल्लम्खुल्ला प्रतिरोधमा ओर्लिनु नि ! भारतको ज्यादतीविरुद्ध आफ्नै घरमा आगो झोंसेर कहाँको राजनिती गरिरहनुभएको छ? कस्तो सन्देश दिन खोज्नुभएको हो र कुन मर्दांङ्गीको परिचय दिन खोज्नुभएको हो?
विश्व समाजवादी आन्दोलनको सुवर्ण रुप र तपाईंहरुले अवलम्वन गरि जवर्जस्त लाद्न खोज्नुभएको कथित समाजवादमा आकाशपातालको अन्तर छ। विश्व समाजवादी आन्दोलनलाई केलाएर हेर्ने हो भने प्रथम विश्वयुद्ध समाजवादी आंदोलनको लागि एउटा महत्वपूर्ण घटना थियो। एकापट्टि युद्धको शुरुवात सँगै समाजवादी आन्दोलन र यसका अन्तर्राष्ट्रीय संगठन प्राय: छिन्न-भिन्न भए भनें अर्को पट्टि रूसमा रुसी क्रान्ति (अक्टूबर-नोवेम्वर १९१७) मा भयो अनि संसारमा प्रथम सफल समाजवादी राज्यको स्थापना भयो जसले गर्दा संसारको समाजवादी आंदोलनमा गहिरो असर पर्यो। प्रथम विश्वयुद्धभन्दा पहिला समाजवादी पार्टीहरूको यो मत थियो कि पूंजीवादी व्यवस्था नैं युद्धको निम्ति उत्तरदायी हुन्छ र विश्वयुद्ध शुरु भएको खण्डमा प्रत्येक समाजवादी पार्टीद्वारा आफ्नो पूँजीवादी सरकारको युद्धनैतिको विरोध गरिनुपर्छ र गृहयुद्धद्वारा समाजवादको स्थापनाको लागि प्रयत्नशील रहनुपर्छ। तर जब युद्ध शुरु भयो, रूस र इटलीका समाजवादी पार्टीलाई छोडेर अरु सबै पार्टीहरूको बहुमतले आ-आफ्नो सरकारहरूको नीतिलाई समर्थन गरे। समाजवादीहरूको एउटा नगण्य अल्पमतले मात्र युद्धको विरोध गरे र पछि गएर यिनीहरूमध्ये कतिपय लेनिन र उनको साम्यवादी अन्तर्राष्ट्रीय संगठनका समर्थक बने। परंतु विभिन्न देशहरूका समाजवादी आंदोलनहरूको परस्पर विरोधी युद्धनैतिको कारण उनीहरूको एकता समाप्त भयो।
बोल्शेविक पार्टी रूसका समाजवादी पार्टीहरू मध्येको एउटा पार्टी थियो।१९१७को विशेष परिस्थितिमा यसलाई सफलता प्राप्त भयो। रूसी समाजवादको पृष्ठभूमि अन्य यूरोपीय समाजवादको स्थितिभन्दा भिन्न थियो। रूसी साम्राज्य यूरोपको अग्रणी देशहरूभन्दा उद्योग धन्धामा पछाडिएको थियो, यसकारण त्यहाँ मजदूर वर्ग बहुसंख्यक र अधिक प्रभावशाली हुन सकेनन् । त्यहाँ लोकतन्त्रात्मक शासन र व्यक्तिगत स्वाधीनताको पनि अभाव थियो। रूसी बुद्धिजीवी र मध्यमवर्ग यसको लागि इच्छुक थिए तर जारशाही दमननैतिको कारण यो प्राप्त गर्न संवैधानिक मार्ग अवरुद्धप्राय थियो| यिनै परिस्थितिहरूद्वारा प्रभावित त्यहाँका प्रथम समाजवादी रूसको ग्रामीण कम्यून (समुदाय)लाई आफ्ना विचारहरूको आधार मान्थे तथा क्रांतिकारी मार्गद्वारा जारशाहीको नाश नैं लोकतन्त्रवादको सफलताको लागि प्रथम सीढि मानेका थिए। ती विचारकहरूमा हर्जेन (Herzen), लावरोव (Lavrov), चर्नीशेव्सकी (Chernishevrzky) र बाकुनिन (Bakunin) मुख्य थिए। यिनीहरूबाट प्रभावित भएर अनेक बुद्धिजीवी क्रांति तर्फ अग्रसर भए| यस प्रकार नरोदनिक (Narodnik) जन आंदोलनको सूत्रपात भयो र नारोदन्या वोल्या (Narodnya Volya, जनेच्छा) संगठन बनियो। सन् १९०१मा यसको नाम सामाजिक क्रांतिकारी (Social Revolutionary Party) राखियो | सन् १९१७को बोल्शेविक क्रांतिको समयसम्म यो रूसको सबैभन्दा ठूलो समाजवादी पार्टी थियो| परंतु यसको प्रभावक्षेत्र अधिकांशत: ग्रामीण जनता थिए। यसको वाम पक्षले बोल्शेविक क्रांतिको समर्थन गर्यो।
अर्को समाजवादी विचारधारा, जसमा बोल्शेविक दल पनि सम्मिलित थियो, रूसी सामाजिक लोकतन्त्रावादी मजदूरदल (Russian Social Democratic Labour Party, R. S. D. L. P.)को नामले प्रसिद्ध छ। यसको प्रभाव मुख्यत: शहरका मजदूर वर्गमा थियो। रूसमा उद्योगहरू कम्ति थिए तर ती उद्योगहरू ठूला-ठूला भएको कारण अधिक संख्यामा मजदूरहरू राखिन्थ्यो| यी मजदूरहरूमा राजनैतिक चेतना र संगठन दह्रो थियो| लोकतन्त्रको अभावमा मजदूरहरूलाई संघर्ष गर्न कठिन थियो, यसले गर्दा मजदूर वर्ग क्रांतिकारी प्रभावमा परे र जर्मनीको जस्तो परिस्थितिहरूको कारण त्यहाँका अधिकांश मजदूर नेता पनि मार्क्सवादी तथा जर्मनीका सामाजिक लोकतन्त्रवादी दलहरूबाट प्रभावित भए| सन् १८९० तिर एक्सलरोड (Axelrod) र प्लेखानोव (Plekhanov)ले पीटर्सवर्ग (लेनिनग्राड)मा प्रथम मजदूर समूह स्थापित गरे जो पछि गएर १८९८मा रूसी सामाजिक लोकतन्त्रवादी मजदूर पार्टीका आधार बने।
रूसी सामाजिक लोकतन्त्रवादी मजदूर पार्टीका नेताहरू कट्टर मार्क्सवादी थिए, अत: उनिहरूले पुनरावृत्तिवादलाई अस्वीकार गरे अनि मार्क्सवादलाई विकसित गरेर रूसी परिस्थितिमा लागू गराए। मजदूरहरूको रहन सहनको स्तरमा उन्नति भएको थियो, यस सत्यलाई नमान्नु कठिन थियो, परंतु प्लेखानोवले नयाँ मसिनहरूको प्रयोग र ज्यालामा वृद्धि नहुनुको कारण पूँजीवादी शोषणको दर बढेको कुरा सिद्ध गरिदिए| बुखारिन (Bukharim)को तर्क थियो साम्राज्यवादी देश उपनिवेशको शोषणद्वारा आफ्ना श्रमजीवी वर्गलाई सन्तुष्ट राख्छन् | ट्राटस्की आदिले भने कि पूँजीवादीको संकट सर्वव्यापी भएकोछ र यस्तो स्थितिमा यो संभव छ कि क्रांति पश्चिम यूरोपको अग्रणी देशहरूमा नभएर अपेक्षाकृत पछाडिएका देशहरू जहाँ सम्राज्यवादी व्यवस्था सबभन्दा कमजोर भएको ठाउँमा हुनुपर्छ| केही विचारकहरूले सर्वप्रथम समाजवादी क्रांतिको स्थान रूस हुनुपर्छ भने| ट्राटस्की र लेनिनको मत थियो समाजवादी क्रांति तब सफल हुनसक्छ जब यो धेरै देशहरूमा एक साथ फैलिन्छ, स्थायी क्रांति बिना केवल एक देशमा समाजवादको स्थापना कठिन छ। पछि गएर लेनिन र स्टालिनले यस सिद्धांतलाई संशोधन गरी एकदेशीय समाजवादको आधारमा सोभियत सत्ताको निर्माण गरे। निकोलाई लेनिनले उपर्युक्त विचारहरूको समन्वय गरेर बोल्शेविक दलको संगठन र अक्टूबर (नवंबर) क्रांतिको नेतृत्व गरे।
जसलाई बनाउन आउँदैन, उसलाई भत्काउने अधिकार पनि छैन। जसले भत्काउने चेष्टा गर्दैछ उसलाई क्षमा कदापी गर्न सकिँदैन। एकजना मधेसी मुलका मित्र भन्दछन," पोहोरसम्म हामी पहाडी र मधेसी मिलेर दशै, तिहार र छठ पर्व कस्तो आत्मियताका साथ मनाउँदै थियौं, अहिले त परिस्थिती ठिक उल्टो छ।यसपालीका त्यौहार आफ्नो घरमा आफ्नै तवरले मनाउंदै छौं। यौटा समुदायको रिष अर्को समुदायप्रति छ। अर्को समुदायले उक्त समुदायलाई देख्दै निलुंलाझैं गर्छन। यसरी सद्भाव बिथोल्ने अरु कोहि नभएर हाम्रै नेतृत्व हो। जसले सत्ता र स्वार्थको दाउमा समुदायमाझ विद्वेषको बिष रोप्ने काम गरेका छन। असलमा भन्ने हो भने पनि मधेसी होउन या पहाडी समस्या भनेका अझ पनि ज्यूँ का त्यूँ छन। तर उनिहरुको स्वार्थको खातिर हाम्रो सद्भाव खोस्ने अधिकार कसले दियो नेतृत्वलाई?"
बिसंगति एवं भ्रष्टाचारले थलिएको हाम्रोजस्तो मुलुकमा सनातनी राजनैतिक अभ्यास भईरहनुले निश्चय पनि मुलुकको अग्रगामी बिकाश एवं अपेक्षाकृत शु-शाषनको नेतृत्व त गर्न सक्तैन तर विकल्पको लागि पनि विकल्प नभईदिंदा उहीँ "नहुनु मामा भन्दा कानै मामा नै वेश” भनि चित्त बुझाउन बाध्य छौं। तसर्थ तपाईंले छेड्नुभएको उल्टो दिशाको राजनितिले आम जनतामा नकारात्मक एवं घृणाको विजारोपण गरेको छ। साथै कालान्तरमा तपाईंको राजनिती पनि “नयिं बोत्तल पुरानी शराव” कै प्रारुपमा देखा पर्ने कुरा निश्चित नै छ।
समय गतिशिल हुन्छ भन्थे, हो रहेछ। समयको धाराप्रवाहसंगै जसले समयमाथी नै मजाक गर्न सिके ति नवढनाड्य वर्गमा रुपान्तरित हुन पुगे, जसले ऐयासीको संसार नै राजनितीलाई मान्दै आफ्नै आफै आत्मरतिमा रमाएका छन भने अर्कोतर्फ जसले समयको ख्याल नै नगरी माटो र देशलाई साक्षी राखेर खाएको कसम तोड्न तिनको मनले मानेन ति वर्ग खाडीका मरुभूमीतिर लखेटिन विवश भए। ति यस्ता वर्ग हुन जसले अझैपनि आफ्नी आमाको पखालिएको सिंउदोको मूल्य चुक्ता गर्न नपाएकोमा वेचैन छन। यौटि अवला नारीको खोसिएको सुहागको मूल्य चुक्ता गर्न नपाएकोमा आक्रोशित छन भने यौटा नावालकको स्तनपानको अधिकार खोस्न पुगेकोमा आफै आफै उद्धेलित छन। सवैभन्दा ठूलो कुरा त दुष्मनलाई तेर्साएको वन्दुकले आफैलाई धोका दिएकोमा खाडीको रापसंगै फिलिंगोको स्वरुपमा तिनै रापिन बाध्य छन।
भारतलाई स्राप्दैमा र चिनसंग मितेरी गांस्दैमा कोहि राष्ट्रवादी हुने होईन। दुवै देशसंग समदूरी कायम गरि नेपालले आफ्नो आर्थिक एवं पूर्वाधार बिकाशमा दुवैदेशबाट अधिकतम मात्रामा फाइदा लुट्न जान्न सक्नुपर्दछ। दुई देशबिचको तरुल नभई दुई देशलाई जोड्ने सेतुको रुपमा नेपालले आफुलाई उभ्याउन सक्नुपर्दछ र यी दुई देशबिचको ब्यापारिक केन्द्रबिन्दु नेपाल बन्न सक्नुपर्दछ। सत्ताको जोडघटाउमा `प्रभु´को आशीर्वाद लिनुको साटो नेपालका नेताहरुले दुवै देशको मन जित्नसक्ने खालको व्यवहार प्रदर्शन गर्नुपर्दछ। यसले गर्दा राज्यसंचालनमा उपर्युक्त ब्याक्तिको छनौट हुनुका साथै दुवै देशसंग सुमधुरता कायम हुन जानेछ। जसले गर्दा देशको आर्थिक एवं भौतिक पूर्वाधार स्तरोन्नतिका लागि पनि टेवा मिल्न जानेछ।
भ्रष्टाचारले गाँजिएको हाम्रोजस्तो देशमा शु-शासन भन्ने शब्द नै मजाक बनिराखेको छ। राज्यका हरेक निकाय, अंग अंगमा ब्याप्त भ्रष्टाचार, कमिसन,घूस, घोटाला ईत्यादीले गर्दा मुलुक नै जर्जर बन्दै गएको छ। स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रमा त यसको जालो बिकराल छ। राज्य वाट अनिवार्य प्रदान हुनुपर्ने नागरिकताको सवालमा पनि टेवलमुनीबाट हात छिराउनुपर्ने अवस्था जहिंतहिं भेट्न पाईन्छ भने अन्य बाँकीका त कुरै नगरौं। यसैवाट प्रष्ट हुन जान्छ कि शु-शासन भन्ने कुरा कुन हदसम्म लागू छ भनेर।राज्यका निकायमा मात्र नभई ब्याक्ती, घर, समुदाय हुँदै सिंगो देश निर्माण गर्ने अभिभारा प्राप्त हरेक नागरिकलाई शु-शासनको गोरेटोमा हिंड्न सिकाउनु मूख्यत: नेतृत्ववर्गकै जिम्मेवारी रहन जान्छ। यस्तोमा नेतृत्व थोरैमात्रामा पनि विचलित भैइदियो भने बाँकी समुदायमा शु-शासनको प्रत्याभूती दिलाउन गाह्रो हुन्छ। नेतृत्व नै नैतिक संकटमा पर्न सक्तछ। तसर्थ देशमा शु-शासन कायम गर्नको लागि नेतृत्ववर्ग उच्च नैतिक चरित्रवान हुनुपर्दछ। तपाईंले अवलम्वन गर्नुभएको राजनितिमा यस्तो चारित्रीक अभ्यासले कत्तिको महत्त्व पाउने हो, यसमा ख्याल गर्नुपर्दछ। जब समाज र देशमा मा शु-शासम कायम राख्न सफल रहनेछौं तब समृद्धि ,समानता, सार्वभौमिकता, समानुपातिकता हुँदै समुन्नत समाजवाद्सम्म पुग्न पनि सहज हुनेछ।
तसर्थ, विप्लव जि, तपाईंहरुको कम्युनिस्ट आन्दोलन, शुषासन, र समाजवाद माथी उल्लेखित तथ्य र ईतिहाससंग कहिंकतै मेल खाएको देखिंदैन। समयलाई उल्टो धकेल्ने चेष्टावाहेक तपाईंको राजनितिमा निष्ठा कतै देखिएन। सु-शासन, समृद्धी, भ्रष्टाचारमुक्त समाजको परिकल्पना भन्दापनि अराजकता, आडम्वर र ढोंगी राजनिती तपाईंहरुमा हावी हुँदैछ। समाजवाद र साम्यवाद होईन देश र जनताको नैसर्गिक अधिकारहरुमाथी धावा बोल्दै देश र जनतालाई गुमराहमा राख्ने चेष्टा गर्दैहुनुहुन्छ। खोक्रो राष्ट्रवादले अलिकसमय आत्मरती लिन पाईएता पनि कालान्तरमा त्यो देश र जनता अनि तपाईंहरु स्वयमंका लागि अत्यन्त घातक हुनेछ।भारतको रिस नेपालमा तोडफोड र अराजकता अनि त्रास फैलाएर होईन कि उसंग जो आमनेसामने भएर मुकावला गर्नसक्नुपर्दछ। तवमात्र विप्लव कमरेड भनेर हामिले गर्वसाथ भन्नेछौं। नत्र त स्वास्नी कुटेर मर्द सम्झिने लोग्ने र तपाईंमा के नै फरक रह्यो र होईन र?